प्रहार समाचार । काठमाडौँ,१९ मंसिर २०८१ बुधवार । बागलुङकी सिलसिला आचार्य सन् २०२४ का लागि बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न सफल भएकी छन् ।

नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिए बापत बीबीसीले उनलाई उक्त सूचीमा राखेको जनाएको छ।
बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरेको हो ।
नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्य हर्षित मात्र भएकी छैनन् यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलबार सार्वजनिक गरेको थियो ।
यो छनौट बाट आफूलाई नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप प्रेरणा र हौसला मिलेको आचार्यले बताइन् ।
काठमाडौँ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढेकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गरेकी छन् ।
स्नातकोत्तर अध्ययनका लागि उनले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाएकी थिइन् । स्नातकोत्तर सकेर नेपाल फर्केपछि उनले फोहरमैला व्यवस्थापनमा काम सुरू गरेकी थिइन्। प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद ! म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गरेकी थिइन् ।
























