प्रहार समाचार । काठमाडौँ, १९ मंसिर २०८१ बुधवार । नेपाल विद्यार्थी संघले ‘मेरो शिक्षा मेरो प्रश्न’ नामक अभियान शुरू गरेको छ । प्रादेशिक तथा स्थानीय तहका शिक्षा ऐन कानूनको पूर्ण कार्यान्वयन सुनिश्चित गराउन तथा कानूनमा आवश्यक सुधार गर्न संघले उत अभियान सुरु गरेको जनाएको छ।

शिक्षामा छात्रवृत्ति वितरण नभएको र तोकिएभन्दा बढी शुल्क लिएको देखिएपछि हिंजो बुटवलमा पत्रकार सम्मेलनगरी अभियान शुरू गरेको नेविसंघका केन्द्रीय प्रतिनिधि टीआर पाण्डेले जानकारी दिए ।

नेविसंघले ५५ औं स्थापना दिवसको अवसरमा संघीय संरचना अनुरूप ७ सय ५३ वटै पालिकामा १८ बुँदे सुझाव पत्रसहित ज्ञापनपत्र बुझाएको थियो । नेविसंघले रुपन्देहीका १ दर्जन निजी शैक्षिक संस्थाहरूले नियम विपरीत करिब ७१ लाख रकम उठाएको सार्वजनिक गरेको छ ।

नेविसंघले देशव्यापी रूपमा अहिलेको अभियान सञ्चालन गर्ने बताउँदै अब सामुदायिक विद्यालय तथा विद्यालय तहमा हुने शैक्षिक अनियमितताबारे नेविसंघले अनुगमन र निगरानी गर्ने छ। विद्यालयहरूले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका विद्यार्थीहरूबाट समेत शुल्क उठाएको, निर्धारित शुल्कभन्दा बढी रकम उठाएकोलगायत गतिविधिहरू अनुगमनका क्रममा भेटिएको नेविसंघको दाबी छ ।
























