प्रहार समाचार । तनहुँ, १६ मंसिर २०८१ आइतवार । २०७७ सालमा स्थापित तनहुँको व्यास नगरपालिका वडा नं- २ मा रहेको उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा हिंजो दमौलीमा सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य डा.स्वर्णिम वाग्लेले देशमा भ्रष्टाचार र महाभ्रष्टाचारका काण्डै काण्डले विकृत राजनीतिक अभ्यास नेपालमा रहेको चर्चा गर्दै सहकारी क्षेत्र तहसनहस भएको समेत स्वीकार गरे । सांसद वाग्लेले भने ‘सहकारीको ८८ सय करोड अपचलन हुँदा समेत राज्य चुपचाप बसेको छ,संसद अवरुद्ध बनाएर बनेको संसदीय छानबिन समितिले पेश गरेको प्रतिवेदनले छर्लङ्ग पारेको छ वास्तविक सहकारी ठगी गर्ने को हो भनेर । ‘राज्यले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) माथि प्रतिरोध साँध्ने काम गरेको चर्चा गर्दै सांसद वाग्लेले राजनैतिक पहुँच र पकडका आधारमा संस्थागत भ्रष्टाचाले देश डुबेको बताए । उनले भने ‘ जीव राई त एउटा पात्र मात्रै हुन् तर त्यसको सयौं गुणा नीतिगत तथा संस्थागत भ्रष्टाचार सत्तामा रहेका ठूला राजनीतिक दलका नेताहरूले गरेका छन्।’

संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठले सहकारीलाई समयानुकुल प्रविधि मैत्री बनाउने क्रममा मोवाईल एपको तथा एस. एम.एस सेवा उपलब्ध गराई पारदर्शीता अपनाइएको बताए । उनले रकम जम्मा गर्न बैंकमा जानै नपर्ने गरी फोन ट्रान्फर र क्यू आर कोर्डको पनि व्यवस्था गरिएको बताउँदै आगामी दिनमा सहकारीको छुट्टै वेभसाईट बनाइने बताए ।



कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष चूडामणि दाहाल,तनहुँ बचत तथा ऋण सहकारीका अध्यक्ष देवीबहादुर बस्नेत,राष्ट्रिय सहकारी बैक दमौलीका प्रमुख मनोज श्रेष्ठ,शेयर सदस्य सूर्यमाया श्रेष्ठ,मादीसेती एफ एमका अध्यक्ष सूर्यनाथ खनाल लगायतका वक्ताहरुले सहकारी नियम र कानुन अनुसार चलाएर जनताको विश्वास जित्नु पर्नेमा चलाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा संस्थाका सचिव पूर्ण विकेले सचिवको , शिक्षा उपसमितिका संयोजक प्रताप पण्डित शिक्षा समितिको, ऋण लगानी उपसमितिका संयोजक सुरेश अधिकारीले ऋण उपसमितिको, कोषाध्यक्ष भिम सिंह ठकुरीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सहभागीहरुलाई संस्थाका उपाध्यक्ष रामचन्द्र भट्टले स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण संचालन सचिव पूर्ण बिके र अन्जु दाहालले गरेका थिए । त्यस अवसरमा उत्कृष्ट बचत कर्ता , उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।

























