प्रहार समाचार । काठमाडौं २५ भदौ २०८१ विहिवार । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । आज बाट पुनः तीन दिन अर्थात आगामी २९ गते शनिवार सम्म देशका विभिन्न भागमा भारी बर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि भदौ २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाले आज एक विशेष बुलेटिन मार्फत आगामी तीन दिन देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
लुम्बिनीदेखि सुदूरपश्चिमका भेगमा धेरै ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान महाशाको छ।
त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षा हुने स्थानमा भू-क्षय, बाढीपहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
देशका विभिन्न ठाउँमा हाल पानी परिरहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले आज निकालेको बुलेटिनमा उल्लेख गरेको ज छ ।






















