प्रहार समाचार । तनहुँ २० भदौ २०८१ बिहिवार । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। स्थापना दिवसको अवसर पारेर हिंजो व्यास नगरपालिका वड नं १० दुम्सीमा रहेको गौ संरक्षण केन्द्रमा रहेका गौ माताहरूलाई आहार हस्तान्तरण, वृक्षारोपण र बिरुवा संरक्षणका लागि ट्रि गार्ड हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ।

यसअघि अन्तर कार्यालय खुला हाजिरी जवाफ प्रतियोगिता समेत सम्पन्न गरिएको थियो। सो अवसरमा १३ कार्यालयका बीच प्रतिस्पर्धा गरिएको र शुक्ला गण्डकी नगरपालिका प्रथम भई प्रदेश कार्यसमितिको आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सहभागी भएको थियो।
व्यास १० दुम्सी गौ संरक्षण केन्द्रमा हिजो आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने गौ माताको संरक्षणमा जुट्दै यस क्षेत्रलाई धार्मिक पर्यटनसंङ्ग जोड्नु पर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति श्यामकुमार मौरती , व्यास नगरपालिका नं १० का वडा अध्यक्ष खेमराज पोखरेल, नेपाली कांग्रेस ब्यास नगर सभापति सूर्यचन्द्र हड्खले , युनियनका केन्द्रीय सदस्य काशीराज पण्डित , सिविए अध्यक्ष राजकुमार श्रेष्ठ, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेश बाबु भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण युनियनका सचिव रामहरी खनालले गरेका थिए।
























