प्रहार समाचार । तनहुँ, बैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेलले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता विकासको वाधक भएको बताएका छन् ।
तनहुँको म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार समुदघाटन गर्दै राष्ट्रपति पाैडेलले सुशासन र सुदृढ व्यवस्थापनका माध्यमबाट यसको चिरफार र शल्यक्रिया गरी व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासको गतिलााई तीव्रता दिनुछ भने अर्कातिर जनताको बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र बलियो बनाउनु हाम्रो साझा दायित्व बनेको बताए ।

राष्ट्रपतिले कर्म गर्न र निराश नहुन आम नागरिकलाई अपिल गर्दै विस्तारै विकासका सम्भावनाहरूले देश प्रगतिको बाटोमा अघि बढिरहेकोमा विश्वस्त हुन आग्रह गर्दै अगाडी भने “ हामीले कर्म गर्ने हो, निराश हुने होइन । नेपालमा विकासको अपार संभावना छ र हामी चारैतिरबाट विस्तारै विकासको बाटोमा अगाडि बढ्दैछौ । कृषि, औधोगिकीकरण र रोजगारीको विकास गरी गाउँमा नै बसौ बसौ बनाउने हाम्रो लक्ष्य हामी पुरा हुने विश्वास लिंदै स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी भए त्यति स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुने र त्यति नै हाम्रो शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार हुने बताए ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पुरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै राष्ट्रपति पौडेलले विगतमा सिंहरबारमा केन्द्रीकृत शासनप्रणालीलाई विकेन्द्रीत गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढंगले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट पारे ।
“हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीट्जरल्याण्डकोजस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं “ राष्ट्रपतिले भने ।
























