नेपाली कांग्रेस सङ्गको सत्ता गठबन्धन भत्किए सङ्गै नयाँ सत्ता गठबन्धनका तर्फबाट नवनियुक्त १६ मन्त्रीहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गरेको मन्त्रिपरिषद विस्तारअनुसार शपथ लिन बाँकी १६ मन्त्रीले शपथ लिएका हुन्।
२० सदस्यीय मन्त्रिमण्डलमा एक जना प्रधानमन्त्री दाहाल आफैँ छन् भने तीन जनाले हिंजो नै शपथ लिइसकेका छन्। प्रधानमन्त्री दाहालको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुले आज सितल निवासमा राष्ट्रपति पौडेलबाट शपथ लिएका हुन्।
सपथ लिएसँगै एमालेका ८, माओवादीका प्रधानमन्त्री आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बन्न पुगेको छ। प्रधानमन्त्री सचिवालयका अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन्। त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्। एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्। त्यस्तै माओवादीकानारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुनले अर्थको जिम्मा पाएका छन्। शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन्।

त्यस्तै, नेकपा समाजवादीबाट भानुभक्त जोशी सामान्य प्रशासन र धनबहादुर बुढा सहरी विकासमन्त्री बनेका छन्। एमाले र माओवादीसहितको नयाँ सत्ता गठबन्धनमा सहभागी हुन नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमा सहमति दिएको थियो।समाजवादी सत्तामा मिसिएसँगै सत्ता गठबन्धन पाँचदलीय बनेको छ। पाँच दलीय गठबन्धन मध्येको जसपामा भने मन्त्री बन्नेको नाम टुंगो लाग्न सकेको छैन।
























