प्रहार समाचार । काठमाडौ, मंसिर ३० शनिबार । नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ।
उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिएको थियो। उक्त फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो। उक्त निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्च अदालतको फैसला दोहोर्याएर हेर्न अनुमति दिएको हो।
उच्च अदालतका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटीपूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै सर्वोच्चले दोहोर्याएर हेर्ने भएको हो। शाहलाई बाल यौन दुरूपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने पनि फैसला नवलपुर अदालतले गरेको थियो।




















