प्रहार समाचार । काठमाडौ, मंसिर २९ सुक्रबार ।
नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कम्तीमा १० सिट दाबी गर्ने भएको छ।
शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कम्तीमा पनि १० सिट दाबी गर्ने निर्णय गरेको एक नेताले बताए। माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ।

त्यसका लागि कांग्रेसले सातै प्रदेश कार्यसमितिलाई आकांक्षीहरू सिफारिस गर्न आग्रह गरेको समिति सदस्य आनन्द ढुंगानाले बताए। एक प्रदेशले तीन जना आकांक्षीहरूको नाम सिफारिस गर्न आग्रह गरेको छ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदेशले ७ दिनभित्र उम्मेदवार सिफारिस गर्नुपर्छ। उम्मेदवार कस्तालाई सिफारिस गर्ने मापदण्डसहित केन्द्रीय कार्यालयले पत्राचार गर्ने पनि उनले बताए।

यस्तै पुस १२ गतेदेखि बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाउने पनि निर्णय भएको छ। त्यही बेला राष्ट्रिय सभा चुनावमा उम्मेदवार चयन गर्न, अरू दलहरूसँगको गठबन्धन लगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
























