प्रहार समाचार | काठमाडौं, २८ बिहिबार ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पाँच आधार सहित धरौटीम छोड्न आदेश दिएको छ।
न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्नुपर्ने पाँच आधार सहित आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए।यसअघि दुई न्यायाधीशको इजलासमा राय बाझिएपछि आज कोइरालाको इजलासले उनको निवेदनमा सुनुवाइ गरेको थियो।
मंसिर १५ गते न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा राय बाझिएको थियो। न्यायाधीश खरेलले खाणलाई थुनामा पठाउनुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो।
राय बाझिएपछि बिहीबार न्यायाधीश कोइरालाले यो विषयमा फेरि सुनुवाइ गरेका थिए। उनले न्यायाधीश जनक पाण्डेको रायमा सहमति जनाउँदै खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेका हुन् ।
























