प्रहार समाचार | गोरखा, मंसिर १२ मंगलबार ।
कात्तिक शुल्क पुर्णिमाको रात अमृत वर्षा हुने जनविश्वासका साथ गोरखामा नेवार समुदायले जुनको उज्यालोमा मकै सुकाएर ‘मकै सुकाउनी पर्व’ मनाईएका छन्।
सोमबार साँझ गोरखा नगरपालिका वडा नं.- ६ मा पर्ने ठूलो आँगनमा सामूहिक रूपमा धिमे, पञ्चेबाजा तथा भजन गाउँदै पर्व मनाइएको स्थानिय मोहनलाल श्रेष्ठले बताए ।
ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा हरेक वर्ष उ
यो पर्व मनाउने गरिन्छ । मकैलगायतका विविध अन्नको पुजा गरी ग्रहण गर्ने परम्परा गोरखामा रहिआएको छ। ‘जिजुबाजेको पालादेखि नै चल्दै आएको परम्परा हो । मकै, जुनेलो, पिँडालु, उखु, मास, सखरखण्डलगायतका विविध अन्न उब्जनी भएपछि यसरी नै जुनमा सुकाउने प्रचलन रहेको छ’ श्रेष्ठले भने ।
ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अगुवाइमा लोप हुन लागेको धार्मिक सम्पदा, ऐतिहासिक सपम्दाको संरक्षण गर्ने क्रममा मकै सुकाउने पर्वलाई प्राथमिकता दिइएको हो ।
भुटेको मकै, भटमास, मास, चना, केराउ,मस्याङ, जुनेलोलगायतका नौथरि अन्न फिँजाएर स्थानीले पूजा गरेका हुन् । पर्वको विधिवत पूजा गर्न पाका पुस्ता सक्रिय देखिन्थे । नयाँ पुस्ता पनि पर्व मनाउने विधि हेर्दै रमाएका थिए ।






















