प्रहार समाचार । मोरङ, मंसिर १२ मंगलबार ।
मोरङ उर्लाबारीको आगलागी घटनामा परेर गम्भीर घाइते थप एक जनाको उपचारको क्रममा मृत्यु भएसंगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरिले जनाएको छ । कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेका मध्ये अहिले सम्म पाँचजनाको मृत्यू भएको प्रहरीले जनाएको छ।
मोरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार रामनरेश मरितासहित हालसम्म पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ। यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको डिएसपी दाहालले जानकारी दिए।
लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो।






















