प्रहार समाचार | झापा, मंसिर ९ शनिबार ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापा पुगेर पृथ्वीनारायण शाहको पूर्णकद्को सालिक अनावरण गरेका छन् । विर्तामोड नगरपालिका-१ स्थित इकम कलेजको उद्घाटन तथा कलेज परिसरमा निर्मित पृथ्वीनारायण शाहको सालिक पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिउँसो अनावरण गरेका हुन्। सो कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संयोजनमा भएको थियो।
कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पनि सहभागी बने। उनको स्वागतमा राप्रपाका नेता तथा कार्यकर्ता र राजावादी समर्थकहरू सहभागी भएका थिए। पूर्वराजा शाहको समर्थनमा ‘राजा आऊ देश बचाउ’, ‘गणतन्त्र चाहिँदैन’ गणतन्त्र मुर्दावाद, ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाइएको थियो।
धुलाबारीबाट विर्तामोडसम्म बृहत् मोटरसाइकल र्यालीसहित ल्याएका पूर्वराजा शाहको पक्षमा राप्रपाले शक्ति प्रदर्शन गरेका थिए। कलेजमा पुग्न साथ पूर्वराजा शाहले कलेज उद्घाटन र पृथ्वीनारायण शाहको सालिक अनावरण पछि दुई तल्ला माथि तयार पारिएको आसनमा गएर बसेका उनी करिब एक घण्टासम्म कार्यक्रम स्थलमा बसे ।


















