प्रहार समाचार । तनहुँ, कार्तिक ३० बिहिबार । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजाको छठ पर्व शुक्रबारदेखि सुरू हुँदैछ। पर्वको सुरुवाति संगै छठ मनाउन अन्तिम तयारी भएको छ । काठमाडौँ, तराई र देशका अन्य भागहरूमा रहेका नदि, ताल र जलासयहरुमा पूजा स्थलको निर्माण कार्य बनाउन थालिएको छ ।
राजधानी काठमाडौंको २१ स्थानमा पूजास्थलको निर्माण सुरु गरिएको गौरीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिलसिंहले जानकारी दिए । गौरीघाट संगै कमलपोखरी, विष्णुमति, नख्खु, गहनापोखरी, कुपण्डोललगायत बागमती नदीमा सफाइ गर्ने, नदी किनाराका झार तथा फोहर हटाउने, टेन्ट तथा त्रिपाल, बत्ति एवं छठी माताको मूर्ति राख्ने काम सुरु भएको छ । छठ पर्व मनाउनका लागि नदी किनारा तथा ताल तलैयालाई विशेष प्रकारले सजाउने गरिन्छ।
के कसरी मनाइन्छ त छठ पर्व ?
छठ पर्वमा व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन्। उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ। जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा-अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ। प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्ध हुनुपर्ने धार्मिक नियम रहेको छ।
छठपर्वको दोस्रो दिन शुक्रबार व्रतालु नहाय खाय विधी गर्छन्। तेश्रो दिन शनिबार खरना मनाइन्छ। यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दूध मिलाएर बनाएको खिर छठी माईलाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरिन्छ।
यस वर्षको छठ पर्वको मुख्यपूजा आइतबारका दिन परेको छ। यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगी बेलुकीपख अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। ठेकुवा, भुसुवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री लिइ अस्ताउँदो सूर्यलाई अर्घ दिने गरिन्छ।
पर्वको अन्तिम अर्थात पाँचौ दिन सोमबार बिहान उँदाउँदो सूर्यलाई अर्घ दिई छठपर्वको विधिवत रुपमा समापन गरिन्छ।
पूजा सामग्री किनमेलमा व्यस्त, स्थानीय बजारमा ग्राहकको घुइँचो बढेको छ ।
यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन्।
छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले मिथिलान्चलका हरेक हाटबजारमा चहलपहल बढेको छ। छठ पूजामा अनिवार्य रहेको हरियो सागसव्जी (तरकारी), फलफूल किन्नेहरुको भिडभाड देखिन्छ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। त्यस समयमा पाण्डवहरू विराटराजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।सूर्य पुराण अनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरूआत भएको धार्मिक विश्वास छ। छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाटकामना पूरा गराउने प्रचलन छ।
कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई ब्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ। छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घदिइन्छ। त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ।
कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ। यसअघि तराई/मधेसका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ। तराई/मधेसका साथैपहाडी क्षेत्रमा पनि छठ पर्व मनाउन थालिएको छ।
























