समाचार

संगठन सुदृढीकरण र वैचारिक स्पष्टताको एजेण्डासहित शान्तिरमण वाग्लेको उम्मेदवारी

प्रहार समाचार । तनहुँ, १२ असोज २०८३ सोमबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उम्मेदवारी घोषणा गरेका छन्।

‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद : नेपाली कांग्रेसको मूल मन्त्र’ र ‘सुदृढ कांग्रेस, समृद्ध नेपाल’ भन्ने नारासहित उम्मेदवारी प्रस्तुत गरेका वाग्लेले पार्टीलाई संगठन, विचार र जनसम्बन्धका दृष्टिले थप सुदृढ बनाउने प्रतिबद्धता अघि सारेका छन्। कांग्रेसभित्र सच्चा, सक्रिय र वैचारिक रूपमा स्पष्ट नेताका रूपमा आफूलाई प्रस्तुत गर्दै उनले महाधिवेशन प्रतिनिधिका रूपमा कार्यकर्ताको आवाज पार्टीको नीति र निर्णय प्रक्रियासम्म पुर्‍याउने बताएका छन्।

जिल्ला समन्वय समिति तनहुँको प्रमुखका रूपमा स्थानीय तहबीच समन्वय, विकास आयोजनाको अनुगमन तथा जिल्लास्तरीय सार्वजनिक सरोकारका विषयमा भूमिका निर्वाह गर्दै आएका वाग्लेले महिला उद्यमशीलता प्रवर्द्धन, पूर्णखोप पालिका घोषणा अभियान, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा लैङ्गिक हिंसाविरुद्धको ३६५ दिने अभियानमा योगदान पुर्‍याएको बताएका छन्। मानव अधिकार तथा न्यायिक समितिको क्षमता विकासमा समेत भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले पार्टी राजनीतिलाई पद र प्रतिष्ठाभन्दा संगठन निर्माण, जनसेवा र वैचारिक प्रतिबद्धतासँग जोड्नुपर्ने धारणा अघि सारेका छन्।

उम्मेदवारीसँगै वाग्लेले पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्। पार्टीको आन्तरिक एकता र सुदृढ संगठन निर्माण, युवा शक्ति तथा अनुभव र सक्रियताको समन्वय, जिल्ला तथा स्थानीय तहमा पार्टीको क्रियाशीलता वृद्धि, विचार–नीति–कार्यक्रममा आम कार्यकर्ताको सहभागिता सुनिश्चित गर्ने तथा नेपाली कांग्रेसलाई जनताको पार्टी बनाउने अभियानमा योगदान गर्ने उनको प्रतिबद्धता छ। ‘सच्चा कांग्रेसी सधैं सक्रिय, विचारमा स्पष्टता, कार्यमा दृढता’ भन्ने धारणा अघि सार्दै वाग्लेले तनहुँ क्षेत्र नं. १ का सम्पूर्ण क्रियाशील सदस्यलाई आफूलाई अमूल्य मत दिई विजयी गराउन आग्रह गरेका छन्।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button