प्रहार समाचार । तनहुँ, ११ असोज २०८३ आइतबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तनहुँ क्षेत्र नं. १ मा महिला (खुला) तर्फको महाधिवेशन प्रतिनिधिका रूपमा वीणा कैनीले आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी छन्।

विद्यार्थी राजनीतिबाट संगठन निर्माणको यात्रासम्म आइपुगेकी कैनीले आफूलाई पदको आकांक्षाभन्दा विचार, निष्ठा र संगठनप्रतिको प्रतिबद्धताका आधारमा प्रतिनिधिसामु उभ्याएकी छन्। नेपाली कांग्रेसका अग्रज नेता अमराज कैनीकी सुपुत्रीसमेत रहेकी उनले पारिवारिक राजनीतिक संस्कारसँगै बुबाको निष्ठा र राजनीतिक आदर्शबाट आफूले प्रेरणा लिएको बताएकी छन्। कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुँदैछ भने प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ।पद्मकन्या क्याम्पस र अमृत साइन्स क्याम्पसमा अध्ययन गर्दादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहेकी कैनीले नेपाल तरुण दल काठमाडौंका विभिन्न तहमा काम गरेको बताएकी छन्।

२०६८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेकी उनले पार्टी संगठन विस्तार तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको दाबी गरेकी छन्। काठमाडौंमा शैक्षिक क्षेत्रमा समेत काम गरेकी कैनी पछिल्लो समय दमौलीमा रहेर शिक्षा क्षेत्रमा संलग्न छिन्। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई राजनीतिक आधार मान्दै उनले कांग्रेसभित्र सक्रिय पुस्ताको भूमिका बढाउन, महिलाको सहभागिता अर्थपूर्ण बनाउन र संगठनलाई जनतासँग थप जोड्न आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताएकी छन्।

‘राजनीति सेवा हो, सत्ताको साधन होइन’ भन्ने बीपी कोइरालाको आदर्शलाई मार्गदर्शन बनाउँदै कैनीले व्यक्ति केन्द्रित होइन, कार्यकर्ता र जनतामुखी संगठन निर्माणको पक्षमा आफ्नो राजनीतिक धारणा अघि सारेकी छन्। विचार, निष्ठा र संगठनात्मक सक्रियतालाई प्राथमिकता दिँदै कांग्रेसलाई थप संगठित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी उनले क्षेत्र नं. १ का कांग्रेस प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीमा समर्थनको अपेक्षा गरेकी छन्। विद्यार्थी राजनीतिदेखि संगठन निर्माणसम्मको अनुभव र पारिवारिक राजनीतिक संस्कारलाई आधार बनाउँदै कैनीको उम्मेदवारीले तनहुँ कांग्रेसभित्र महिला नेतृत्व, नयाँ पुस्ताको सक्रियता र संगठन निर्माणको बहसलाई थप अगाडि ल्याएको छ।





















