• विजय अधिकारी (संवाददाता) लमजुङ, ११ असोज २०८३ आइतबार ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङ प्रदेशसभा ‘क’को सभापति पदमा विजय गुरुङ उम्मेदवारी दिएका छन्। विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आबद्ध भई कांग्रेसको राजनीतिमा सक्रिय रहेका अग्राजले कलेज जीवनमा चितवन–लमजुङ सम्पर्क समितिमा रहेर काम गरेका थिए।

जागिरे जीवनमा समेत नेपाली कांग्रेसको सांगठनिक विकासमा निरन्तर योगदान दिएका उनी लमजुङ जिल्लाको क्षेत्रीय कार्यसमिति सदस्य हुँदै जिल्ला कार्यसमिति सदस्य, प्रशिक्षण शाखाको उपप्रमुख तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सहकारी विभागको सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका अग्राजले आफ्नो राजनीतिक अनुभवलाई प्रदेशसभा ‘क’को संगठनलाई थप व्यवस्थित, सुदृढ र चलायमान बनाउन उपयोग गर्ने बताएका छन्। राजनीतिसँगै सामाजिक, आर्थिक, शैक्षिक तथा सहकारी क्षेत्रमा समेत अग्राजको लामो अनुभव रहेको छ। उनले ‘जनचेतना’ नामक सामाजिक संस्थामार्फत लमजुङका विभिन्न क्षेत्रमा २४ वर्षसम्म निरन्तर काम गरेका छन्। लमजुङको सहकारी अभियानमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका अग्राज जिल्ला बचत तथा ऋण सहकारी संघ लमजुङको अध्यक्षका रूपमा २०६६ देखि २०७३ सम्म दुई कार्यकाल कार्यरत रहे।

त्यसपछि समग्र सहकारी संस्थाहरूको छाता संस्था जिल्ला सहकारी संघ लमजुङको अध्यक्षका रूपमा २०७८ देखि हालसम्म जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी प्रदेश अस्पताल लमजुङको अध्यक्षका रूपमा कार्यरत छन् भने गण्डकी प्रदेश सहकारी संघका सदस्यसमेत हुन्। साथै, सौभाग्योदय नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षका रूपमा समेत उनले जिम्मेवारी निर्वाह गरिसकेका छन्।‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’लाई आफ्नो राजनीतिक आदर्शका रूपमा अघि सार्दै अग्राजले कांग्रेस संगठनमा सक्रियता, अनुभव र पुस्तान्तरणलाई प्राथमिकता दिने बताएका छन्।

उनले लमजुङ प्रदेशसभा ‘क’मा संगठनलाई व्यक्ति केन्द्रित नभई कार्यकर्ता र जनतासँग जोडिएको बलियो संरचनाका रूपमा अघि बढाउन आफूले भूमिका खेल्ने उल्लेख गरेका छन्। ‘सम्मान र उचित स्थान, युवालाई प्रोत्साहन’ भन्ने मान्यतासहित उनले पार्टीका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग, सद्भाव र अमूल्य मतका लागि अपिल गरेका छन्। लामो समय पार्टी, सामाजिक, सहकारी र शैक्षिक क्षेत्रमा सक्रिय रहेका अग्राजले आफ्नो उम्मेदवारीलाई पद प्राप्तिको मात्र विषय नभई कांग्रेस संगठनलाई थप सुदृढ बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।





















