प्रहार समाचार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा व्यास नगरपालिका–८ रिस्तीबाट युवा नेता तिमल्सेनाले महाधिवेशन प्रतिनिधिमा दाबी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट खारिँदै पार्टी संगठनमा सक्रिय रहेका तिमल्सेनाले युवाको प्रतिनिधित्व र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै आफ्नो दाबी अघि सारेका हुन्।

२०६२ सालमा पब्लिक यूथ क्याम्पस काठमाडौंको स्ववियू सदस्य बनेका तिमल्सेना २०६८ सालमा करिब ७ हजार विद्यार्थी रहेको क्याम्पसको नेविसंघ इकाइ अध्यक्ष बनेका थिए। त्यसपछि नेविसंघको १०+२ केन्द्रीय संयोजक हुँदै केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालेका उनले तत्कालीन केन्द्रीय अध्यक्ष नैनसिंह महरको कार्यकालमा अर्घाखाँचीमा केन्द्रीय प्रतिनिधिका रूपमा जिल्ला अधिवेशन सम्पन्न गराउन भूमिका खेलेका थिए।
“नेपाल विद्यार्थी संघलाई बलियो बनाउन सके मात्र नेपाली कांग्रेस बलियो हुन्छ,” भन्ने धारणा राख्दै आएका तिमल्सेनाको दाबीलाई रिस्तीमा युवाको प्रतिनिधित्वको विषयसँग जोडेर हेरिएको छ। कांग्रेसको बलियो पकड रहेको व्यास–८ बाट उनको दाबीले आगामी महाधिवेशनमा युवा पुस्ताको सक्रियतालाई समेत चर्चामा ल्याएको छ।





















