• विजय अधिकारी (संवाददाता) लमजुड, ८ असोज २०८३ बिहीबार । नेपाली कांग्रेस लमजुङ प्रदेशसभा ‘ख’ को क्षेत्रीय सभापतिका लागि ईन्जिनियर दिपेन्द्र रावलले आफ्नो दाबेदारी अघि सारेका छन्। प्रदेशसभा ‘ख’ का वर्तमान क्षेत्रीय उपसभापति रहेका रावल लामो समयदेखि लमजुङमा सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

संगठनात्मक अनुभव, समन्वयकारी भूमिका तथा कार्यकर्तासँगको निरन्तर सम्पर्कका कारण उनको नाम सभापतिको आकांक्षीका रूपमा चर्चामा आएको हो।रावलले नेपाल तरुण दल लमजुङका मनोनित जिल्ला सदस्य, नेपाल शिक्षक संघ बेँसीसहर नगर समितिका प्रथम अध्यक्ष, सिडिइएन लमजुङका प्रथम अध्यक्ष, नेपाली कांग्रेस बेँसीसहर–७ का सहसचिव तथा बेँसीसहर नगर समिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन्।
वडा र नगर तहदेखि प्रदेशसभा क्षेत्रीय संगठनसम्मको अनुभव हासिल गरेका रावलको राजनीतिक यात्रा संगठन निर्माण, कार्यकर्तासँगको सम्बन्ध र सहकार्यमा केन्द्रित रहेको बताइएको छ।प्रदेश ‘ख’ को नेतृत्वका लागि आकांक्षीहरूको चर्चा बढिरहेका बेला रावलको दाबेदारीसँगै क्षेत्रीय सभापतिको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ। अग्रजको अनुभव र युवाको ऊर्जालाई जोड्दै सबै पक्षलाई समेटेर संगठनलाई एकताबद्ध, व्यवस्थित र चलायमान बनाउने आफ्नो प्राथमिकता रहेको रावलनिकट नेताकार्यकर्ताहरूले बताएका छन्।





















