प्रहार समाचार । तनहुँ, ८ असोज २०८३ बिहीबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँको व्यास नगरपालिका–१० सेवरका उत्तम मिश्रले महाधिवेशन प्रतिनिधिमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा प्रवेश गरेका मिश्रले तीन दशकभन्दा लामो राजनीतिक यात्रामा विभिन्न संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएका छन्।

मिश्रले २०५२ सालमा बाराही माध्यमिक विद्यालय, फराकचौरको नेपाल विद्यार्थी संघ अध्यक्षबाट राजनीतिक यात्रा अघि बढाएका थिए। २०५७ सालमा सरस्वती क्याम्पस, ठमेलमा स्वतन्त्र विद्यार्थी युनियन सभापतिको प्रत्यासी बनेका उनी २०५९ सालमा नेविसंघ तनहुँ जिल्ला सदस्य र २०६२ सालमा नेपाल विद्यार्थी संघ तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष बने। त्यसपछि २०६८ देखि २०७२ सम्म नेविसंघ केन्द्रीय समितिको केन्द्रीय सदस्य तथा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका मिश्र २०७९ सालमा नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको सभापति बनेका थिए।

संगठन निर्माण र युवा परिचालनमा निरन्तर सक्रिय मिश्र २०८० सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्यसमेत बनेका थिए। विद्यार्थी संगठन हुँदै तरुण दलको केन्द्रीय नेतृत्वसम्मको अनुभवलाई उनले अहिले कांग्रेसको मूल संगठनमा थप जिम्मेवारी लिने आधारका रूपमा अघि सारेका छन्। ‘नयाँ सोच, सक्षम नेतृत्व, सबैका लागि कांग्रेस’ भन्ने नारासहित महाधिवेशन प्रतिनिधिमा अघि बढेका मिश्रले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल आदर्शलाई केन्द्रमा राख्दै समावेशी कांग्रेस र समृद्ध नेपाल निर्माणमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको उम्मेदवारीसँगै व्यास–१० मा महाधिवेशन प्रतिनिधि चयनको राजनीतिक प्रतिस्पर्धा थप रोचक बनेको छ।





















