प्रहार समाचार । तनहुँ, ८ असोज २०८३ बिहीबार । पृथ्वी राजमार्ग हुँदै लागुऔषध ओसारपसार भइरहेको सूचनाको निगरानीमा प्रहरीले तनहुँको आँबुखैरेनीमा गरेको चेकजाँचका क्रममा १७ वर्षीय किशोरलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको टोलीले मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको माइक्रोबस चेकजाँच गरेको थियो। सो क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ बस्ने १७ वर्षीय पुरुषको साथबाट लुकाइछिपाइ ल्याइएको ट्रामाडोल ७९ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका किशोरलाई नियन्त्रणमा लिएर प्रहरीले जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिएका छन्। प्रहरीले राजमार्ग क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि चेकजाँचलाई निरन्तरता दिइरहेको जनाएको छ।





















