प्रहार समाचार । तनहुँ, ७ असोज २०८३ बुधबार । । नेपाली भाषा र साहित्यलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका आदिकवि भानुभक्त आचार्यको १५८औँ स्मृति दिवस तनहुँको भानु नगरपालिका–१, सतीघाटमा विविध कार्यक्रमसहित मनाइएको छ।

कार्यक्रममा भानुभक्तको साहित्यिक योगदानको स्मरणसँगै उनको सिर्जना र विचारलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याइएको छ।आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण तथा नेपाली भाषा–साहित्यको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले भानुभक्तप्रति श्रद्धासुमन अर्पण गरेका थिए। वक्ताहरूले नेपाली भाषालाई साहित्यिक अभिव्यक्तिको सशक्त माध्यमका रूपमा स्थापित गर्न भानुभक्तले पुर्याएको योगदानलाई नयाँ पुस्ताले बुझ्न र आत्मसात् गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामेसहित गोकर्णेश्वर नगरपालिकाका साहित्यिक स्रष्टा, भानु नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत अमृत कर्मचारी, आमा समूह, सुरक्षाकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

भानुभक्तको जन्मभूमिसँग जोडिएको भानु नगरपालिका–१ सतीघाटमा आयोजित स्मृति दिवसले उनको साहित्यिक विरासतलाई केवल स्मरणमा सीमित नराखी नेपाली भाषा–साहित्यको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तासँगको सम्बन्ध थप बलियो बनाउनुपर्ने सन्देश दिएको छ। सहभागीहरूले भानुभक्तका रचनाको अध्ययन तथा साहित्यिक योगदानको प्रचार–प्रसारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।






















