प्रहार समाचार । चितवन, ७ असोज २०८३ बुधबार । लगातार भारी वर्षाको सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित विपद्बाट जोगिन जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार २०८३ असोज ८ गतेदेखि केही दिन लगातार भारी वर्षा हुनसक्ने भन्दै प्रशासनले नदी तथा खोला तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जोखिमको अवस्था देखिए सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको छ। स्थानान्तरणका क्रममा समस्या परे सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न तथा नजिकको सुरक्षा निकायबाट आवश्यक सूचना र सहयोग लिन प्रशासनले भनेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका होटल, रेष्टुरेन्ट, विद्यालय तथा कलकारखानालगायतका संरचना छोटो सूचनामै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसतर्फ पनि पूर्वतयारी गर्न आग्रह गरिएको छ।भारी वर्षाको समयमा रातिको यात्रा थप जोखिमपूर्ण हुनसक्ने भन्दै प्रशासनले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न अपिल गरेको छ।
यात्रा गर्नैपर्ने अवस्था आए सुरक्षा निकाय तथा स्थानीय तहबाट मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न भनिएको छ। ‘गन्तव्यमा जसरी पनि पुग्ने’ मानसिकता घातक हुनसक्ने भन्दै जहाँ पुगेको हो, त्यही आसपास सुरक्षित स्थानमा रोकिएर बस्न प्रशासनले विशेष आग्रह गरेको छ। मौसमको अवस्था हेरी जुनसुकै बेला सडक आवागमनमा रोक लगाउन सकिने भएकाले यात्रुले त्यसलाई ध्यानमा राख्नुपर्ने प्रशासनको भनाइ छ।यात्राका क्रममा आकस्मिक अवस्था आउन सक्ने भन्दै प्रशासनले नागरिकलाई यात्रा झोलामा एक–दुई सेट अतिरिक्त लुगा, ड्राइफुड, खानेपानी, मोबाइल चार्जर तथा प्राथमिक उपचारका आधारभूत औषधि राख्नसमेत सुझाव दिएको छ। साथै, असोज ८ देखि १२ गतेसम्म नदी किनारका संरचनामा कार्यक्रम आयोजना नगर्न र यसअघि तय भएका कार्यक्रम स्थगित गर्न अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको सूचनामा सम्भावित जोखिमलाई सामान्य रूपमा नलिई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ। आपत्कालीन अवस्थामा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४ तथा जिल्ला आपत्कालीन केन्द्र (DEOC) को १२३४ मा सम्पर्क गर्न सकिने जनाइएको छ। यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ९८५५०९२२०० र जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी ९८५५०१३९९९ मा समेत सम्पर्क गर्न सकिनेछ। सूचना २०८३ असोज ७ गते जारी गरिएको हो।





















