हेडलाईनसमाचारगण्डकी

प्रेस युनियन लमजुङको अध्यक्षमा अधिकारी : पत्रकार संकटमा पर्दा तत्काल साथ दिने प्रतिबद्धता

• विजय अधिकारी (संवाददाता) लमजुङ, ७ असोज २०८३ बुधबार । नेपाल प्रेस युनियन लमजुङको नयाँ नेतृत्व चयन भएको छ। युनियनको आठौँ जिल्ला अधिवेशनले निरज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै श्रमजीवी पत्रकारको पेसागत सुरक्षासँगै संकटका बेला संस्थागत सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको हो।

अधिवेशनबाट उपाध्यक्षमा जिबि घिमिरे, उपाध्यक्ष (समावेशी)मा दिलु तामाङ, सचिवमा विराट न्यौपाने, सह–सचिवमा समिता पौडेल र कोषाध्यक्षमा सुजन बानिया सर्वसम्मत चयन भएका छन्। त्यस्तै खुला सदस्यमा सञ्जय गुरुङ, महिला सदस्यमा शोभा ठकुरी र आदिवासी जनजाति सदस्यमा सोमराज गौचन चयन भएका छन्। अधिवेशनले केन्द्रीय प्रतिनिधिमा रामजी राना, शान्ता कमली, आसबहादुर गुरुङ, ऋषि अधिकारी र सृजना बराल तथा प्रदेश प्रतिनिधिमा सन्तोष पौडेल, सन्देश पौडेल र बसन्ता भट्टलाई समेत सर्वसम्मत चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले कार्यसमितिको पहिलो बैठकबाटै श्रमजीवी पत्रकारको सुख–दुःखमा साथ दिने गरी कल्याणकारी कामको सुरुवात गरिएको बताए। उनका अनुसार जिल्लामा क्रियाशील पत्रकार भवितव्यमा पर्दा, गम्भीर बिरामी हुँदा वा अन्य कुनै वित्तीय संकटमा पर्दा तत्काल राहत तथा उद्धार पुर्‍याउने उद्देश्यले निश्चित रकमको बीउ पुँजीबाट प्रेस युनियन आपतकालीन पत्रकार कल्याणकारी कोष स्थापना गरिनेछ। “श्रमजीवी पत्रकारहरूको सुरक्षालाई मध्यनजर गर्दै एक महत्त्वपूर्ण र प्रशंसनीय निर्णय गरेका छौँ,” अधिकारीले भने, “यो कोषले आगामी दिनमा पत्रकारहरूको पेसागत र व्यक्तिगत सुरक्षामा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिएका छौँ।”

निवर्तमान अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा नेपाली कांग्रेस लमजुङका जिल्ला सभापति एवं गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री डा. तकराज गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य परमेश्वर अधिकारी, नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीलगायतका अतिथिले नवनिर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै नयाँ कार्यसमितिले श्रमजीवी पत्रकारको हकहित, पेसागत सुरक्षा र पत्रकारको आपतकालीन अवस्थालाई प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button