प्रहार समाचार । तनहुँ, ७ असोज २०८३ बुधबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत व्यास नगरपालिका नगर कार्यसमितिको सभापतिमा तुलसीराम सापकोटा निर्वाचित भएका छन् । नगर कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू सहमतिका आधारमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।

नगर सभापतिमा सापकोटासहित उपसभापतिमा कमला विक र सुरेश आले निर्वाचित भएका छन् । सचिवमा गौरव पन्थ तथा सहसचिवमा पुष्प श्रेष्ठ चयन भएका छन् । सचिव र सहसचिव यसअघि नै निर्विरोध भएका थिए । त्यस्तै नगर सदस्यतर्फ आरती काफ्ले युवा महिला, खिरमाया विक दलित महिला, टीकाराम मौरती दलित, विजयादिन मिया युवा तथा सन्देश रानामगर लौडारी युवा सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा जीवन गुरुङ र रफतसाना मिया पनि निर्विरोध चयन भएका छन् । व्यास नगर कार्यसमितिको नेतृत्व चयनमा सबै पदमा सहमति जुटेपछि निर्वाचन प्रतिस्पर्धाबिनै नयाँ कार्यसमिति चयन भएको हो । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको यो अधिवेशनले व्यास नगरमा पार्टी संगठनलाई सहमति र सहकार्यका आधारमा अघि बढाउने सन्देश दिएको छ । नवनिर्वाचित कार्यसमितिले पार्टीको संगठन विस्तार, स्थानीय तहमा जनसम्बन्ध विस्तार तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ।





















