आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

मुग्लिङ–पोखरा सडकमा प्रहरीको ‘सचेतना अभियान’ जारि

प्रहार समाचार । तनहुँ, ७ असोज २०८३ बुधबार । मुग्लिङ–पोखरा सडक खण्डमा बढ्न सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले तनहुँ प्रहरीले आज पनि बिहानैदेखि चालक सचेतना अभियान सञ्चालन गरेको छ।

सडकको अवस्था, मौसममा हुने परिवर्तन तथा चालकको लापरबाही दुर्घटनाको जोखिम बढाउने प्रमुख कारण बन्न सक्ने भएकाले प्रहरीले सडकमा सवारी गुडाउने चालकलाई लक्षित गर्दै सचेतना अभियान थालेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको संयुक्त आयोजनामा मुग्लिङ–पोखरा सडक खण्डमा अभियान सञ्चालन गरिएको हो। अभियानका क्रममा विभिन्न प्रकारका सवारी साधनका चालकलाई रोकेर सडकको वर्तमान अवस्था, मौसमको अवस्था, सुरक्षित गति, लेन अनुशासन तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सम्झाइबुझाइ गरिएको प्रहरीले जनाएको छ। विशेषगरी बिहानको समयमा सडकमा कम दृश्यता हुन सक्ने, मौसमअनुसार सडक चिप्लो तथा जोखिमयुक्त हुन सक्ने र निर्माणाधीन सडक खण्डमा यात्रा गर्दा थप सावधानी आवश्यक पर्ने भएकाले चालकलाई परिस्थितिअनुसार सवारी चलाउन सचेत गराइएको छ।

प्रहरीले चालकलाई हतार नगरी सुरक्षित गतिमा सवारी चलाउन, आफ्नो लेनमा अनुशासित भएर गुड्न तथा सडकको अवस्था हेरेर गति नियन्त्रण गर्न आग्रह गरेको छ।मुग्लिङ–पोखरा सडक खण्डमा दैनिक ठूलो संख्यामा सवारी साधन आवतजावत गर्ने भएकाले सामान्य लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले चालक, यात्रु र सडक प्रयोगकर्तालाई ट्राफिक नियमप्रति जिम्मेवार बन्न अपिल गरेको छ। दुर्घटना भएपछि उद्धार र उपचारभन्दा दुर्घटना हुनै नदिनु प्रभावकारी हुने भएकाले प्रहरीले सडक सुरक्षालाई प्राथमिकतामा राखेर यस्ता सचेतनामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button