प्रहार समाचार । तनहुँ, ७ असोज २०८३ बुधबार । आत्मनिर्भर बन्न ठूलो पूँजी र ठूलो व्यवसाय नै चाहिन्छ भन्ने सोचलाई चुनौती दिँदै तनहुँको व्यास नगरपालिका–३ दमौलीमा ‘सौन्दर्य कुर्थी कलेक्सन’ सञ्चालनमा आएको छ। आफ्नै सीप, रुचि र मेहनतलाई स्वरोजगारको आधार बनाउँदै छुनु माया मगरले गत भदौ ८ गतेदेखि उक्त पसल सञ्चालनमा ल्याएकी हुन्।

‘तपाईंको सौन्दर्य, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सुरु गरिएको व्यवसायले महिलालाई आत्मनिर्भर बन्ने प्रेरणा पनि दिएको छ।सौन्दर्य कुर्थी कलेक्सनमा विभिन्न डिजाइनका कुर्था–सुरुवालसँगै आधुनिक फेसनअनुसारका लेडिज पहिरन तथा अन्य सामग्री उपलब्ध छन्। पछिल्लो समय ग्राहकको रोजाइ र बजारको माग परिवर्तन भइरहेकाले ग्राहकलाई कस्तो डिजाइन, रङ र पहिरन मन पर्छ भन्ने कुरालाई प्राथमिकतामा राखेर सामग्री छनोट गर्ने मगर बताउँछिन्।

ग्राहकको रुचिलाई बुझेर गुणस्तरीय र आधुनिक डिजाइनका सामग्री उपलब्ध गराउने उनको लक्ष्य छ।‘व्यवसाय सानो वा ठूलोभन्दा पनि आफ्नै खुट्टामा उभिनु महत्वपूर्ण हो’ भन्ने सोचका साथ मगरले व्यवसायलाई अघि बढाएकी हुन्। रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने बाटो रोजेकी उनले महिलाका लागि आत्मनिर्भरता आर्थिक पक्षसँग मात्र नभई आत्मविश्वाससँग पनि जोडिएको बताउँछिन्। आफ्नो रुचिलाई व्यवसायमा परिणत गर्न सके त्यसले परिवार र समाजमा सकारात्मक सन्देश दिन सक्ने उनको विश्वास छ। मगरको व्यवसायिक यात्रामा उनका श्रीमान् मनोज थापाको पनि पूर्ण साथ र सहयोग छ।

पारिवारिक साथ र आफ्नै मेहनतलाई आधार बनाएर सुरु गरिएको व्यवसायलाई आगामी दिनमा ग्राहकको विश्वास जित्दै विस्तार गर्ने योजना रहेको मगरले बताइन्। उनका लागि यो पसल आम्दानीको माध्यम मात्र नभई आफ्नै पहिचान निर्माण गर्ने प्रयास पनि हो।

दमौलीमा खुलेको ‘सौन्दर्य कुर्थी कलेक्सन’ले एउटा सानो व्यवसायमार्फत ठूलो सन्देश दिएको छ—अवसर खोजेर मात्र होइन, अवसर सिर्जना गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ। मेहनत, निरन्तरता र ग्राहकको विश्वासलाई आधार बनाएर अघि बढ्न सके स्वरोजगारले व्यक्तिको आर्थिक जीवनसँगै आत्मविश्वास र पहिचानसमेत बदल्न सक्ने उदाहरणका रूपमा मगरको प्रयासलाई लिन सकिन्छ।





















