हेडलाईनसमाचारगण्डकी

पालुङटारमा पहिलोपटक भूमि व्यवस्थापन सेवा सुरु, अब सदरमुकाम धाउनुपर्ने बाध्यता घट्ने

प्रहार समाचार । गोरखा, ६ असोज ३०८८ मङ्गलवार । गण्डकी प्रदेशमै पहिलोपटक गोरखाको पालुङटार नगरपालिकाबाट भूमि व्यवस्थापनसम्बन्धी सेवा शुभारम्भ गरिएको छ। स्थानीय तहबाटै जग्गा तथा भूमि व्यवस्थापनसम्बन्धी सेवा सहज, सरल र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा सुरु गरिएको हो।

सेवाको शुभारम्भ गर्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले गोरखा जिल्लाको भूमि प्रशासनसम्बन्धी करिब ४० प्रतिशत कार्यभार नगरपालिकामा स्थानान्तरण भइसकेपछि भूमि प्रशासन र नापी कार्यालयमा रहेका जनशक्तिलाई दरबन्दीमा राखेर निष्क्रिय बनाउनुभन्दा सम्बन्धित पालिकामै परिचालन गर्नुपर्ने बताए।

त्यसका लागि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए। जेठ ११ गतेदेखि नै सेवा सञ्चालन गर्ने तयारी भए पनि विविध कारणले ढिलाइ भएको बताउँदै नगरप्रमुख चिन्तनले स्थानीय तहबाटै भूमि सेवा उपलब्ध हुँदा महिलाहरू समेत आफ्नो सम्पत्तिको मालिक बन्ने वातावरण तयार हुने विश्वास व्यक्त गरे।

देशभरका ३५ जिल्लाका स्थानीय तह छनोट हुँदा गण्डकी प्रदेशबाट भानु नगरपालिका, मध्यनेपाल नगरपालिका र पालुङटार नगरपालिका भूमि व्यवस्थापन सेवाका लागि छनोट भएका छन्। सेवा सञ्चालनमा आएपछि पालुङटारवासीले जग्गा तथा भूमिसम्बन्धी कामका लागि सदरमुकाम गोरखा धाउनुपर्ने बाध्यता घट्ने र समय तथा खर्च बचत हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना, भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी, गोरखाका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रलगायतले स्थानीय तहबाटै सेवा प्रवाह हुनु नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। प्रजिअ मिश्रले सेवा प्रवाहका नाममा कर्मचारीले बहानाबाजी गर्ने छुट नभएको बताए भने नगरप्रमुख त्रिपाठीले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरे।

कार्यक्रममा पालुङटारका पूर्वनगरप्रमुख दीपकबाबु कँडेल, उपप्रमुख बन्दना पाण्डे, भूमि प्रशासन सेवा कार्यालय प्रमुख जगदीश मिश्र तथा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीलगायतले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button