प्रहार समाचार । ६ असोज २०८३ मङ्गलवार । अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भएको भनिएको अनियमितताको अनुसन्धान अब पक्राउसम्म पुगेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रारम्भिक अनुसन्धानपछि एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई पक्राउ गरेको छ । तस्बिर : साङ्केतिक एआई

जिल्ला अदालत ललितपुरले दुवै जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताएका छन्। खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। उनीहरूसँगको बयान र अनुसन्धानबाट थप व्यक्तिको संलग्नता खुलेमा उनीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी सीआईबीको छ। सीआईबीको अनुसन्धान एन्फाको कार्यालयमा भएको भनिएको आर्थिक तथा प्रशासनिक अनियमिततासँगै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका निर्णयसम्म पुगेको छ।
अनुसन्धान अधिकृतहरूका अनुसार फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपाल र बहराइनबीचको ‘होम एन्ड अवे’ खेलमध्ये नेपालमा हुनुपर्ने खेलसमेत बहराइनमै खेलाइएको विषयमा आर्थिक चलखेल भएको आशंका गरिएको छ। एन्फा पक्षले भने दशरथ रंगशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएकाले एसियाली फुटबल महासंघकै निर्णयअनुसार खेल बहराइनमा खेलाइएको दाबी गर्दै आएको छ। यससँगै जर्सी तथा प्लेइङ किट खरिद, केल्मी र केटीएम सिटीका सामग्री खरिद तथा अमेरिकामा भएको २०२६ विश्वकपको टिकट बिक्री प्रक्रियासमेत अनुसन्धानको घेरामा परेको सीआईबीका अधिकारीहरूले बताएका छन्।
एन्फामा अनियमितताको प्रश्न भने नयाँ होइन। यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युवा तथा खेलकुद मन्त्रालय तथा संसद्को सार्वजनिक लेखा समितिसम्म उजुरी पुगेका थिए। २२ पुस २०७५ मा परेको उजुरीपछि अख्तियारले खेलकुद मन्त्रालयलाई छानबिनका लागि पत्राचार गरेको थियो र मन्त्रालयले सहसचिव अरुणप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। पछिल्लो समय पुनः उजुरी परेपछि अनुसन्धान अघि बढाएको सीआईबीले शुक्रबार एन्फाको ललितपुरस्थित कार्यालयमा छापा मारेर ल्यापटप, चारवटा सीपीयू लगायतका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ। पक्राउ परेका पदाधिकारीसँगको बयान, बरामद सामग्री र आर्थिक कारोबारको अध्ययनपछि एन्फाभित्रको अनियमितताको वास्तविक दायरा थप स्पष्ट हुने प्रहरीको भनाइ छ।





















