प्रहार समाचार । तनहुँ, १५ भदौ २०८३ सोमबार । तनहुँको व्यास नगरपालिका–१ गल्बुबेसीस्थित नव आदर्श टोल विकास समितिले बाढीबाट प्रभावित तथा घाइतेहरूको सहयोगका लागि ७८ हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

टोल विकास समितिको तर्फबाट संकलित उक्त रकम आज नेपाल बैंक लिमिटेड दमौली शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो। टोल विकास समितिका अध्यक्ष सृजना खड्काको नेतृत्वमा गएको टोलीले उक्त रकम बैंकमा जम्मा गरेको हो।

विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले टोलवासीको सहभागितामा रकम संकलन गरिएको समितिले जनाएको छ। अध्यक्ष खड्काले विपद्को समयमा पीडितको सहयोगका लागि समुदायस्तरबाट सक्दो योगदान गर्नुपर्ने बताइन्। उनले टोलवासीको सामूहिक प्रयासबाट संकलित रकम बाढीपीडितको राहत तथा उद्धारमा उपयोग हुने विश्वास व्यक्त गर्दै विपद्मा परेकाहरूलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरिन्।
















