हेडलाईनसमाचारबागमती

राहत कोषकै नाममा ‘ठगीको खेल’ : नक्कली बैंक स्टेटमेन्ट र क्यूआर कोड बनाएर प्रचार गर्ने युवा पक्राउ

प्रहार समाचार । रामेछाप, १४ भदौ २०८३ आइतबार । विपद्का बेला पीडितका नाममा उठ्ने सहयोगलाई समेत दुरुपयोग गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ लाख २० हजार सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट र क्यूआर कोड सामाजिक सञ्जालमा प्रचार गर्ने एक युवा पक्राउ परेका छन्।

राहतका नाममा सर्वसाधारणलाई भ्रमित पार्ने गतिविधि गरेको आरोपमा गोकुलगंगा गाउँपालिका–२ का ३२ वर्षीय भगवान् कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार सहयोग गरेको दाबी गर्दै कार्कीले सामाजिक सञ्जालमा नक्कली बैंक स्टेटमेन्ट र क्यूआर कोड पोस्ट गरेका थिए। तर, उक्त विवरण वास्तविक नभएको आशंकापछि प्रहरीले सामाजिक सञ्जालमा पोस्ट गरिएको सामग्रीलाई आधार बनाएर अनुसन्धान अघि बढाएको थियो।राहतका नाममा झुटो विवरण प्रचार गरेको आरोपमा कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

विपद्का बेला सहयोग गर्ने नाममा गलत बैंक विवरण, नक्कली स्टेटमेन्ट वा क्यूआर कोड बनाएर प्रचार गर्नुले वास्तविक राहत संकलन अभियानप्रति समेत सर्वसाधारणको विश्वास कमजोर पार्न सक्ने भन्दै प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएको छ। प्रहरीले प्राकृतिक विपद्का नाममा आर्थिक सहयोग पठाउँदा सामाजिक सञ्जालमा देखिएका सामग्रीकै आधारमा विश्वास नगर्न र रकम पठाउनुअघि सम्बन्धित सरकारी निकाय तथा आधिकारिक बैंक खाता र क्यूआर कोडको विवरण यकिन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राहत र सहयोगको संवेदनशीलतालाई दुरुपयोग गरी भ्रम फैलाउने गतिविधिमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button