प्रहार समाचार । तनहुँ, १६ साउन २०८३ शनिबार । व्यास क्षेत्रमा धार्मिक तथा सांस्कृतिक जागरणलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित एमआरआर व्यास पराशर भजन समूह गठन गरिएको छ । आज पराशर आश्रम व्यास ५ वेनिपाटनमा सम्पन्न भेलाले सञ्जीव वाग्लेको अध्यक्षतामा नौ सदस्यीय तदर्थ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै नियमित भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

समितिको सचिवमा शिव न्यौपाने, कोषाध्यक्षमा रामबाबु रेग्मी तथा सदस्यहरूमा तेजप्रसाद लामिछाने, हरिप्रसाद तिवारी र कपिल कार्की चयन भएका छन्। उपाध्यक्ष, सहसचिव र एक सदस्य भने पछि चयन गरिने जनाइएको छ।स्थानीय कीर्तनकार तथा समाजसेवी तेजप्रसाद लामिछानेको अगुवाइमा आयोजित भेलाले धार्मिक गतिविधिलाई अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। भेलामा एमआरआर शैलीको भजन–कीर्तनमार्फत नयाँ पुस्तामा धार्मिक, सांस्कृतिक र नैतिक मूल्य हस्तान्तरण गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

अभियानलाई समुदायसँग जोड्दै दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना समेत समितिले अघि सारेको छ।नवनिर्वाचित समितिले आगामी शनिबारदेखि प्रत्येक शनिबार दिउँसो ४ बजेदेखि दमौलीस्थित अनसन चौतारी परिसरबाट नियमित भजन–कीर्तन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। अभियानमा स्थानीय युवाको सक्रिय सहभागिता बढाउने, धार्मिक एवं सामाजिक सद्भाव सुदृढ गर्ने तथा पुस्तान्तरणका विविध कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको समितिले जनाएको छ।
भेलामा सहभागीहरूले भजन–कीर्तन केवल धार्मिक अनुष्ठानमा सीमित नभई समाजमा नैतिकता, अनुशासन, आपसी सहयोग र आध्यात्मिक चेतनाको विकास गर्ने प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए। व्यास क्षेत्रमा धार्मिक गतिविधिलाई थप व्यवस्थित र नियमित बनाउने लक्ष्यसहित सुरु गरिएको यो अभियानले स्थानीय समुदायमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।















