हेडलाईनसमाचारगण्डकीखेलकुद

सिसी क्यामराको निगरानीमा विश्वकप फाइनल : दमौलीमा खुला एलईडी स्क्रिनमार्फत खेल हेर्ने सम्पूर्ण तयारी पूरा, सुरक्षाको उचित प्रबन्ध

प्रहार समाचार । तनहुँ, ३ साउन २०८३ आइतबार । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार राति हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेल दमौलीमा खुला स्थानमा सामूहिक रूपमा हेर्ने सम्पूर्ण तयारी पूरा गरिएको छ। तनहुँको जिल्ला प्रशासन कार्यालय अगाडिको चोकमा विशेष सुविधायुक्त ठूलो एलईडी स्क्रिन जडान गरिएको छ भने हजारौँ दर्शकको उपस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण क्षेत्र सिसी क्यामराको निगरानीमा राखिएको छ।

आयोजक स्थानीय युवाहरूले खेल हेर्ने वातावरण सुरक्षित, व्यवस्थित र सहज बनाउन आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको बताएका छन्। खेल प्रदर्शन हुने स्थान जिल्ला प्रशासन कार्यालयको मुख्य गेट अगाडि भएकाले त्यस क्षेत्रमा सर्वसाधारणको उल्लेख्य भीड हुने अनुमान गरिएको छ। भीडका कारण अत्यावश्यक सेवामा कुनै असर नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्ससहित अत्यावश्यक सवारीसाधनलाई दुर्गा मन्दिर हुँदै दमौली अस्पताल पुग्ने वैकल्पिक मार्गको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

आवश्यक परे ट्राफिक व्यवस्थापनसमेत सोहीअनुसार सञ्चालन गरिने तयारी गरिएको छ। विश्वकप फाइनललाई लक्षित गर्दै दमौली बजारमा सोमबार साँझदेखि नै विशेष चहलपहल बढेको छ। खेलप्रेमीहरू खुला स्थानमै बसेर फाइनलको रोमाञ्चक प्रतिस्पर्धा हेर्न उत्साहित देखिएका छन्। सम्भावित भीड व्यवस्थापन, सुरक्षा र शान्ति सुव्यवस्था कायम राख्न सम्बन्धित निकायसमेत सक्रिय भएका छन्।

जिल्ला प्रशासन कार्यालय तनहुँले खेल अवलोकनका क्रममा कुनै अप्रिय घटना हुन नदिन पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ। सिसी क्यामराबाट निरन्तर निगरानी, सुरक्षा निकायको परिचालन तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइएकाले दर्शकलाई अनुशासित र जिम्मेवार ढंगले खेल अवलोकन गर्न प्रशासनले आग्रह गरेको छ। कर्यक्रमको मिडिया पाट्नरको रूपमा प्रहार अनलाईन मिडिया रहेको छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button