हेडलाईनसमाचारगण्डकी

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङले चलाएको बोलेरो जिप दुर्घटना

• विजय अधिकारी ( प्रहार संवाददाता ) लमजुङ, २ साउन २०८३ शनिबार । लमजुङको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ आफैंले चलाएको गाउँपालिकाको ग १ झ ३३१ नम्बरको बोलेरो जिप आज दुर्घटनामा परेको छ। मर्स्याङ्दी–३ जल्केनीस्थित भुलभुले सुरुङअघिको पुल नजिकै जिप करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारमा खस्दा अध्यक्ष गुरुङ घाइते भएका छन्।

सरकारी सवारी आफैं चलाएर कार्यक्रममा हतारिँदा भएको यो दुर्घटनाले सार्वजनिक पदमा रहेका व्यक्तिको सुरक्षा सतर्कता र सरकारी सवारी सञ्चालनसम्बन्धी प्रश्नसमेत उठाएको छ। खुदी प्रहरी चौकीका प्रमुख रञ्जन अम्गाईका अनुसार ‘कोरा २०२६’ को समापन तथा ‘प्रथम टुर दि लमजुङ २०२६’ सम्बन्धी कार्यक्रममा खानेपानी पुर्‍याउन र सहभागीलाई स्वागत गर्न गाउँपालिकाको प्रवेशद्वार भुलभुलेबाट खुदीतर्फ जाँदै गर्दा अगाडिको सिटमा राखिएको पानीको कार्टुन सम्हाल्ने क्रममा जिप अनियन्त्रित भएको थियो। त्यसपछि बोलेरो सडकबाट तल खसेर नदी किनारमा पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनाको प्रारम्भिक कारण चालकको ध्यान सडकभन्दा अन्यत्र मोडिनु रहेको प्रहरीको भनाइ छ। दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्काल प्रदेश अस्पताल लमजुङ पुर्‍याएर उपचार गरिएको थियो। चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको छ। उनको ढाड र टाउकोमा सामान्य चोट लागेको र केही दिन पूर्ण आराम गर्न चिकित्सकले सुझाव दिएको स्रोतले जनाएको छ।

दुर्घटनाका बेला जिपमा अध्यक्ष गुरुङ बाहेक अन्य कोही सवार थिएनन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। सरकारी कार्यक्रमको व्यवस्थापनका क्रममा सरकारी सवारी आफैं चलाउनु, चालकको व्यवस्था किन नगरियो भन्ने विषयले पनि स्थानीय तहको कार्यशैली र सुरक्षा व्यवस्थापनमाथि बहस सुरु गराएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button