प्रहार समाचार । काठमाडौं, २५ बैशाख २०८३ शुक्रबार । लामो समयदेखि नेतृत्वविहीनजस्तै बनेका नेपाली कांग्रेसका प्रमुख भ्रातृ संगठनहरूमा अन्ततः नयाँ अनुहार लाई म्मेवारी प्रदान गरिएको छ । पार्टीभित्रै बारम्बार आलोचना खेप्दै आएको तदर्थ संरचनालाई व्यवस्थापन गर्ने प्रयासस्वरूप कांग्रेस नेतृत्वले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघमा नयाँ अध्यक्ष मनोनयन गरेको हो ।

पार्टी सभापति गगन थापा ले केन्द्रीय कार्यसम्पादन समितिको म्याण्डेटअनुसार करुणा कटुवाललाई नेपाल विद्यार्थी संघ, मनिष कोइरालालाई नेपाल तरुण दल तथा मीना खरेललाई नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी दिएका छन् । लामो समयदेखि नेतृत्व चयन र महाधिवेशनको अन्योलमा रहेका यी संगठनमा नयाँ जिम्मेवारी तोकिएसँगै कांग्रेसले संगठनात्मक पुनर्संरचनाको संकेत दिएको छ ।विशेषगरी नेविसंघ र तरुण दलमा आन्तरिक गुटबन्दी, निष्क्रियता र नेतृत्व विवादका कारण गतिविधि सुस्त बन्दै गएको थियो ।
महिला संघ पनि वर्षौंदेखि पूर्ण संरचनाविहीन अवस्थामा चलिरहेको थियो । यस्तो अवस्थामा नयाँ नेतृत्वमार्फत संगठनलाई चलायमान बनाउने र पार्टीको जनाधारलाई पुनः सक्रिय बनाउने रणनीतिमा कांग्रेस देखिएको छ ।नवनियुक्त अध्यक्षहरूलाई सबैभन्दा पहिलो जिम्मेवारी संगठनको महाधिवेशन सम्पन्न गराउने दिइएको छ । पार्टी नेतृत्वले अब तदर्थ संरचना लम्ब्याउने होइन, वैधानिक नेतृत्वमार्फत संगठनलाई व्यवस्थित बनाउने सन्देश दिन खोजेको बुझिएको छ । आगामी चुनावी राजनीतिलाई लक्षित गर्दै कांग्रेसले भ्रातृ संस्थाहरूलाई फेरि सडक र संगठनमा सक्रिय बनाउने तयारी थालेको राजनीतिक वृत्तमा चर्चा छ ।
























