प्रहार समाचार । सिड्नी, २५ बैशाख २०८३ शुक्रबार । अस्ट्रेलिया अध्ययनका लागि जाने नेपाली विद्यार्थीमाथि पछिल्लो समय कडा निगरानी सुरु भएपछि भिसा अस्वीकृत हुने दर अत्यधिक बढेको छ । पछिल्ला सरकारी तथ्यांकअनुसार नेपाली विद्यार्थीका करिब दुईतिहाइ आवेदन अस्वीकृत भइरहेका छन् ।

एक महिनामै ६७ प्रतिशतसम्म आवेदन रिजेक्ट भएपछि अस्ट्रेलिया पढ्ने सपना बोकेका हजारौँ विद्यार्थी अन्योलमा परेका छन् । लाखौँ रुपैयाँ खर्च गरेर प्रक्रिया अघि बढाएका विद्यार्थी भिसा नलागेपछि मानसिक र आर्थिक दबाबमा परेका छन् भने कन्सल्टेन्सी व्यवसाय पनि प्रभावित बनेको छ ।अस्ट्रेलियाले नेपाललाई ‘एसेसमेन्ट लेभल ३’ मा राखेपछि नेपाली आवेदकमाथि थप कडाइ गरिएको हो । अब हरेक आवेदन व्यक्तिगत रूपमा केस अफिसरले अध्ययन गर्ने व्यवस्था लागू गरिएको छ । बैंक स्टेटमेन्टदेखि शैक्षिक प्रमाणपत्रसम्म सूक्ष्म परीक्षण हुन थालेपछि पहिलेजस्तो सहज अवस्था नरहेको शिक्षा क्षेत्रमा आबद्धहरू बताउँछन् ।

अंग्रेजी भाषा परीक्षण, अध्ययनको स्पष्ट उद्देश्य र आर्थिक स्रोतको विश्वसनीयता पुष्टि गर्न नसक्ने विद्यार्थीहरू सबैभन्दा बढी अस्वीकृतिमा परिरहेका छन् ।अस्ट्रेलियाली अधिकारीहरू दक्षिण एसियाली मुलुकबाट नक्कली बैंक ग्यारेन्टी र किर्ते शैक्षिक प्रमाणपत्र प्रयोगका घटना बढेको निष्कर्षमा पुगेपछि नेपाली आवेदनप्रति झन् शंकालु बनेका छन् । फेब्रुअरी २०२६ मा नेपालबाट गएका ६५ प्रतिशत आवेदन अस्वीकृत भएका थिए भने मार्चमा यो दर ७३ प्रतिशतसम्म पुगेको तथ्यांक सार्वजनिक भएको छ । जबकि चीनबाट गएका विद्यार्थीको अस्वीकृति दर चार प्रतिशत मात्रै रहेको छ ।
यसले नेपाली विद्यार्थीप्रतिको विश्वास कमजोर बन्दै गएको संकेत गरेको शिक्षा क्षेत्रमा चर्चा छ । शिक्षा परामर्श व्यवसायमा देखिएको बेथिति र कमजोर सरकारी नियमन पनि अहिलेको समस्याको मुख्य कारणका रूपमा हेरिएको छ । दर्ताविनै सञ्चालन भएका कतिपय कन्सल्टेन्सीले गलत कागजात तयार पारेर विद्यार्थीलाई जोखिममा पार्ने काम गरेको आरोप लाग्दै आएको छ । विज्ञहरूका अनुसार अब पैसा र पहुँचका भरमा मात्र अस्ट्रेलिया जान सम्भव छैन । राम्रो शैक्षिक पृष्ठभूमि, स्पष्ट अध्ययन योजना र प्रमाणित कागजात भएका विद्यार्थीले मात्रै अवसर पाउने अवस्था बनेको छ ।
























