हेडलाईनसमाचारबागमती

संसद्को हाजिरी अब ‘बायोमेट्रिक’ प्रविधिबाट

प्रहार समाचार । काठमाडौँ, २५ वैशाख २०८३ शुक्रबार। सङ्घीय संसद्मा अब सांसदको हाजिरी ‘बायोमेट्रिक’ प्रणालीबाट हुने भएको छ । सांसदको उपस्थितिलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यको ‘बायोमेट्रिक’ विवरण सङ्कलन सुरु गरेको हो । तस्बिर : गोरखापत्र

वैशाख २४ गतेदेखि सुरु गरिएको यो अभियानअन्तर्गत सांसदको औँठाछापसहित विद्युतीय विवरण दर्ता भइरहेको सचिवालयले जनाएको छ ।संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद्को हाजिरी प्रणालीलाई विश्वसनीय बनाउन नयाँ प्रविधि प्रयोग गर्न लागिएको हो । अब सांसद संसद् भवनमा उपस्थित भएपछि ‘बायोमेट्रिक’ प्रणालीमार्फत स्वतः हाजिरी अभिलेख हुने व्यवस्था मिलाइँदैछ । यसले बैठकमा वास्तविक रूपमा उपस्थित सदस्यको विवरण तत्काल अभिलेखीकरण गर्न सहज हुने सचिवालयको भनाइ छ ।गत भदौमा भएको आन्दोलनका क्रममा आगलागी हुँदा संसद्को विद्युतीय हाजिरी प्रणाली सञ्चालन गर्ने उपकरण र संरचना नष्ट भएपछि सचिवालय नयाँ प्रणाली निर्माणमा जुटेको हो । त्यही घटनापछि कागजी हस्ताक्षरमा आधारित पुरानो अभ्यास हटाएर आधुनिक प्रविधिमा आधारित हाजिरी प्रणाली लागू गर्ने तयारी अघि बढाइएको बताइएको छ ।

सचिवालयले यसबाट सांसदको उपस्थितिमा हुने ढिलासुस्ती र अभिलेख व्यवस्थापनसम्बन्धी समस्या कम हुने अपेक्षा गरेको छ ।सचिवालयले विभिन्न संसदीय समितिका सदस्यलाई पालैपालो बोलाएर ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिरहेको छ । वैशाख २८ गतेसम्म सबै सांसदको विवरण सङ्कलन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँ प्रणाली पूर्ण रूपमा लागू भएपछि संसद्मा सांसदको हाजिरी अब औँठाछापमार्फत मात्रै प्रमाणित हुने व्यवस्था गरिने सचिवालयले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button