प्रहार समाचा । तनहुँ, १३ माघ २०८२ गलबार । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केस्वरी स्वास्थ्य चौकीले नवनिर्मित भवनबाट औपचारिक रूपमा स्वास्थ्य सेवा शुभारम्भ गरेको छ। नयाँ भवन सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीय नागरिकले अझ सहज र व्यवस्थित रूपमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

ग्रामीण भेगका नागरिकलाई स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निर्माण गरिएको भवनबाट नियमित उपचार सेवा तथा अन्य आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा आएको हो। यसलाई गाउँपालिकाको स्वास्थ्य क्षेत्र सुधार तथा विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि निरन्तर प्रयास हुँदै आएको र सोही प्रयासको परिणामस्वरूप स्वास्थ्य चौकीको नयाँ भवन सञ्चालनमा आएको जनाइएको छ। आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन भौतिक संरचना मजबुत बनाइएको अध्यक्षको सचिवालयले जनाएको छ।

अध्यक्षका स्वकीय सचिव मनोज बास्तोलाका अनुसार नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा आएपछि सेवाग्राहीलाई उपचारमा सहजता बढ्नुका साथै सेवा व्यवस्थापन पनि थप प्रभावकारी हुने छ। आँबुखैरेनी गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा थप सुधार र विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।



























