हेडलाईनसमाचारगण्डकीखेलकुद

नेशनल प्याब्सन तनहुँद्वारा आयोजित १३औं स्पोटर्स फेस्टिवलको उपाधी ग्रिन स्टार बोर्डिङ स्कुललाई

प्रहार समाचार । तनहुँ, २८ मंसिर २०८२ आइतबार । निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) तनहुँको आयोजनामा सम्पन्न १३औँ स्पोटर्स फेस्टिवलमा व्यास नगरपालिका–५ मा रहेको ग्रिन स्टार बोर्डिङ स्कुलले समग्र उपाधि जित्दै आफ्नो खेलकुद क्षमताको प्रभावशाली प्रदर्शन गरेको छ। २७ वटा विद्यालयलाई पछि पार्दै ग्रिन स्टारले पाँच स्वर्ण, तीन रजत र एक कास्य पदकसहित रनिङ शिल्ड उचाल्न सफल भयो।

तीन दिनसम्म दमौलीको खुल्ला चौरमा चलेको प्रतियोगितामा जिल्लाका २८ वटा संस्थागत विद्यालयका ५ सय ९२ जना विद्यार्थीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए। उत्साहपूर्ण सहभागिता र कडा प्रतिस्पर्धाबीच ग्रिन स्टारले निरन्तर उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्तिममा उपाधि आफ्नो पक्षमा पार्‍यो।

प्रतियोगितामा व्यास नगरपालिका–१ स्थित इन्द्रेणी बोर्डिङ स्कुल दोस्रो र मनास्लु बोर्डिङ स्कुल तेस्रो स्थानमा रह्यो। गत वर्षको च्याम्पियन मनास्लु यसपटक उपविजेतामा सीमित हुन नसके पनि शीर्ष तीनभित्र अटाउँदै आफ्नो निरन्तरता कायम राख्न सफल भयो।

विजयी खेलाडी तथा विद्यालयलाई नेशनल प्याब्सनका पूर्व केन्द्रीय महासचिव अर्जुनबहादुर अधिकारी र प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनाललगायतले शिल्ड, कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमको सहजीकरण विश्वस केसी र सचिव ऋषिकेश केसीले गरेका थिए। खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको फेस्टिवलले विद्यालयस्तरमा खेल संस्कृतिलाई थप बलियो बनाएको आयोजकको भनाइ छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button