प्रहार समाचार । तनहुँ, २७ मंसिर २०८२ शनिबार । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल ११ वर्षदेखि कागज, डिजाइन र म्यादभित्रै अल्झिएको छ। यही दीर्घकालीन ढिलासुस्तीलाई अन्त्य गर्ने संकेत गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुल निर्माण स्थलमै पुगेर निर्माण व्यवसायीलाई कडा चेतावनी दिएका छन्—एक महिनाभित्र काम सुरु नभए ठेक्का तोडिनेछ।

स्थल निरीक्षणका क्रममा मन्त्री घिसिङले विकास निर्माणमा देखिएको उदासीनता अस्वीकार्य भएको स्पष्ट पारे। “घुमाउने पुल जसरी पनि बन्नुपर्छ। यहाँ राष्ट्रपतिको समेत चासो छ। काम गर्नुस्, नगर्ने भए स्पष्ट भन्नुस्,” भन्दै उनले नौ वर्षसम्म पुरानै डिजाइनमा किन काम भएन भन्ने प्रश्नसमेत उठाए। उनका शब्दमा, विकास आयोजना थन्क्याएर राख्ने प्रवृत्तिलाई अब सरकारले सहन गर्ने छैन।
२०७० साल असारमा मृत सञ्जीवनी निर्माण कम्पनीसँग सम्झौता भई सुरु भएको यो आयोजना पटक–पटक म्याद थप, डिजाइन परिवर्तन र प्रशासनिक ढिलासुस्तीको चक्रमा फस्दै २०७८ चैतमा सम्पन्न हुनुपर्ने थियो। तर आजसम्म आइपुग्दा पुलको भौतिक प्रगति करिब ५० प्रतिशतमा सीमित छ, जहाँ दुवै किनारमा पिल्लर ठड्याइएका बाहेक संरचनात्मक काम अघि बढेको छैन।
मन्त्री घिसिङले हाल डिजाइन परिवर्तन भएर सडक विभागमा पुगेको फाइल तत्काल स्वीकृत गरी निर्माण अघि बढाउन निर्देशन दिएका छन्। उनका अनुसार अब बहानाबाजीको समय सकिएको छ, काम सुरु नहुने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने विकल्प सरकारसँग खुला छ।
९ करोड ५६ लाख रुपैयाँ लागतमा निर्माण हुने १०५ मिटर लामो र फुटपाथसहित ११ मिटर चौडाइको यो पुल केवल संरचना मात्र होइन, गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने बुद्धसिंह मार्गको मेरुदण्ड हो। पुल बनेपछि हाल प्रयोगमा रहेको मुग्लिन–नारायणगढ सडकको तुलनामा करिब २३ किलोमिटर दूरी छोटिनेछ, जसले यात्रु र ढुवानी दुवैका लागि समय र लागत उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।
यता स्थानीय दबाब पनि चर्कँदै गएको छ। बुद्धसिंह मार्ग सरोकार संघर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जा मगरले आइतबार मन्त्री घिसिङलाई घुमाउने पुलसहित बुद्धसिंह मार्गमा अपुग पुलहरू तत्काल निर्माण गर्नुपर्ने र सडक स्तरोन्नति गर्न माग गर्दै सडक डिभिजन कार्यालय तनहुँमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिएका छन्। वर्षौँदेखिको प्रतीक्षापछि अब घुमाउने पुल कागजमै सीमित रहने कि वास्तविकतामा परिणत हुने भन्ने प्रश्नको उत्तर आगामी एक महिनाले दिनेछ।
























