प्रहार समाचार । डोल्पा, ५ कात्तिक २०८२ बुधवार । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज, देशको जैविक विविधता र हिमाली वन्यजन्तुको संरक्षणका दृष्टिले एक महत्वपूर्ण केन्द्र बनेको छ। पश्चिम नेपालको डोल्पा र मुगु जिल्लामा फैलिएको यो निकुञ्जको कुल क्षेत्रफल ३,५५५ वर्ग किलोमिटर छ। ई.सं. १९८४ मा स्थापना गरिएको यो निकुञ्ज नेपालको सबैभन्दा गहिरो ताल — फोक्सुण्डो ताल — र ऐतिहासिक शे गुम्बा समेटिएको क्षेत्र हो। यी दुई प्रमुख विशेषताहरूको संयोजनबाटै यस राष्ट्रिय निकुञ्जको नाम “शे–फोक्सुण्डो” रहन गएको हो।

यही प्राकृतिक वैभव र जैविक विविधताभित्र सुरक्षित छ हिमाली सौन्दर्य र रहस्यले भरिएको एक अद्वितीय प्रजाति — हिउँ चितुवा। “हिमालकी रानी”, “साबी”, वा “भगवानको वाहन” नामले चिनिने यो दुर्लभ जनावर नेपालसहित विश्वका केवल १२ राष्ट्रमा मात्र पाइन्छ। नेपालमा यसको अनुमानित संख्या ३०० देखि ४०० को हाराहारीमा रहेको छ, जसले नेपाललाई विश्वभरि चौथो स्थानमा पुर्याएको छ।

लगभग १ मिटर लम्बाइ, ०.७५ मिटर उचाइ र लामो बाक्लो पुच्छरसहितको हिउँ चितुवा हिमाली जीवनशैलीमा पूर्ण रूपमा अनुकूल प्रजाति हो। खैरो सेतो रङमा कालो थोप्लाले सजिएको यो चितुवा आफ्नो भेष, शारीरिक संरचना र एक्लै बस्ने स्वभावले पनि अद्वितीय मानिन्छ।
शे–फोक्सुण्डो निकुञ्जमा विश्वकै उच्चतम घनत्वमा हिउँ चितुवा पाइने वैज्ञानिक अध्ययनले पुष्टि गरिसकेको छ। सन् १९८० मा पहिलो पटक यहीं रेडियो कलर जडान गरी अनुसन्धान थालिएको थियो भने २०११ यता क्यामेरा ट्र्यापिङ प्रविधि मार्फत गणना तथा अनुगमन नियमित रूपमा हुँदै आएको छ। सन् २०१९ र २०२१ मा ४ वटा हिउँ चितुवामा GPS कलर जडान गरी चलायमान अवस्थाको सूक्ष्म अध्ययन गरिएको छ।
यो प्रजाति IUCN को रेड लिस्टमा ‘संवेदनशील (Vulnerable)’ श्रेणीमा वर्गीकृत छ। नेपाल सरकारले यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार पहिलो सूचीमा समेटेको छ। यस्तै, अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी CITES सन्धिमा पनि Category I अन्तर्गत सूचीकृत गरिएको छ।
हिउँ चितुवा मुख्यतः नाउर, झारल, फ्यामुसा, तिब्बती खरायो, जंगली भेडा, कस्तुरी मृगजस्ता प्रजातिमा निर्भर रहन्छ। तर, आहारको अभावमा कहिलेकाहीँ स्थानीय पशुचौपाया पनि आक्रमण गर्ने हुँदा मानव–वन्यजन्तु द्वन्द्व एक प्रमुख चुनौती बनेको छ। प्रतिशोधात्मक आक्रमण, चोरी सिकार, बासस्थान विनाश र जनचेतनाको अभावजस्ता कारण यसको संरक्षणमा अझै जोखिम कायम छ।

तर, सकारात्मक पक्ष यो हो कि शे–फोक्सुण्डोमा स्थानीय समुदायको सहकार्यमा संरक्षण कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढिरहेका छन्। इन्द्र व्यवस्थापन, बासस्थान सुधार, अवैध सिकार न्यूनीकरण, जनचेतनामूलक कार्यक्रम तथा स्थानीय आयआर्जन अभिवृद्धिका पहलहरूले चितुवाको दीर्घकालीन संरक्षणमा सहयोग पुर्याइरहेका छन्।

हिउँ चितुवा स्वच्छ, सन्तुलित र स्वस्थ हिमाली वातावरणको संकेतक मात्र होइन, नेपालको जैविक सम्पदाको गौरव र पर्यावरणीय पर्यटनको एक महत्वपूर्ण हिस्सा पनि हो। त्यसैले शे–फोक्सुण्डोमा यस दुर्लभ प्रजातिको संरक्षण सम्पूर्ण राष्ट्रको साझा जिम्मेवारी हो।



























