हेडलाईनसमाचारविजनेसप्रदेश

भृकुटी कागज कारखाना बन्द भएको १५ वर्ष : आत्मनिर्भरताको सपना कहाँ चुँडियो ?

प्रहार समाचार । नवलपुर , २८ असोज २०८२ मङ्गलवार । नेता तथा व्यापारीको साँठगाँठले नेपालको कागजी आत्मनिर्भरताको मेरुदण्ड ठानेको भृकुटी कागज कारखाना खण्डहरमा परिणत भएको १५ वर्ष पुग्यो। राष्ट्रकै हितमा स्थापना गरिएको यो कारखाना आज न त उत्पादन गर्छ, न त मजदुरलाई रोजगारी दिन्छ—बरु मुनाफाका नाममा चलाइएको निजीकरणको सडयन्त्रको कहालीलाग्दो साक्षी बनेको छ। खण्डहर अवस्थामा पुगेको कारखाना :

गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना कुनै समय देशको कागज मागको ६० प्रतिशत पूर्ति गथ्र्यो। चिनियाँ सहयोगमा स्थापित यो उद्योगलाई २०४९ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा निजीकरण गरिएको थियो। त्यसपछि गोल्छा अर्गनाइजेसन लगायतका व्यापारी समूहहरूले यसलाई अत्यन्तै सस्तो मूल्यमा हात पारे।

तर, उद्योग चलाउने जिम्मेवारी लिएको निजी क्षेत्रले उत्पादनको सट्टा जमिन बेच्ने धन्दा चलायो। सन् २०१० (वि.सं. २०६७) मा कारखाना पूर्ण रूपमा बन्द गरियो। त्यसपछिका वर्षहरूमा सयौं मजदुरले रोजगारी मात्र गुमाएनन्, तलब नपाएर मानसिक तथा आर्थिक तनावमा परे। कैयौं मजदुरको मृत्यु पनि भइसकेको छ।

यता उद्योगको थुप्रै सम्पत्ति—बिजुली, टेलिफोन तथा बैंक ऋण करोडौंको हाराहारीमा पुगेको छ। तर सञ्चालकहरू भने अझै पनि बाँकी जमिन बिक्री गर्ने योजनामा छन्।

देश अहिले सम्पूर्ण रूपमा कागजको आयातमा निर्भर छ। हरेक महिना करोडौं रुपैयाँ विदेशी कागज किन्न बाहिरिनु परेको छ। आत्मनिर्भरता त परको कुरा, राष्ट्रिय गौरवका योजनाहरू राजनीतिक मिलेमतो र व्यापारीक लोभका कारण कसरी ध्वस्त हुन्छन् भन्ने उदाहरण हो—भृकुटी कागज कारखाना।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button