प्रहार समाचार । गोरखा , १७ भदौ २०८१ बुधवार । गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा आज बिहान काठमाडौँबाट आरुघाटको सोतीतर्फ गइरहेको रात्रिबस दुर्घटनामा परि २१ जना यात्रु घाइते भएका छन्।

बा०१–००६ख ४१३१ नम्बरको सो बसमा २२ जना सवार थिए। बस दुर्घटना भएपछि घटनास्थलमा पुगेको प्रहरीले घाइतेहरूको उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माका अनुसार घाइते सबैको अवस्था सामान्य छ र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यद्यपि, प्रारम्भिक अनुमान अनुसार रातको समयमा तीव्र गतिका कारण सन्तुलन गुमाएको हुन सक्ने आशंका गरिएको छ।
बसका यात्रुहरूको ज्यान जोगिनु राहतको विषय बनेको छ भने स्थानीय प्रशासनले सडक सुरक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएको छ।
























