• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, २३ मंसिर २०८१ आइतवार । लमजुङका एक युवक हराएको झण्डै एक महिना पछी मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको मर्श्याङदी गाउँपालिका वडा नम्बर -४,सिलढुङ्गाका ३० बर्षीय रोशन गुरुङ हराएको २९ दिन पछि हिंजो मृत अवस्थामा फेला परेका हुन् । सम्पर्क बिहिन रहेका सुस्त मनस्थितीका रोशनलाई उनका आफन्त र स्थानीयले खोजी कार्य गर्ने क्रममा शनिबार दिउसो १.४५ बजे मृत अवस्थामा फेला पारे पछि उनीहरुले प्रहरीलाई खवर गरेका थिए ।
उनको शव सडेको अवस्थामा मर्स्याङ्दी गाउँपालिका वडा नम्बर -४,काप्रेभिर स्थित मर्स्याङ्दी नदिको पाखामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरिक्षक राज किशोर साहको कमान्डमा खटिएको टोलि घट्नास्थल पुगी प्रारम्भीक अनुसन्धान गर्दा बाटो बाट ४ सय मिटर तल खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रहरी निरीक्षक साहका अनुसार-शव सडेर पोष्टमार्टम गर्न नमिल्ने अवस्थामा रहेकाले स्थानीय र आफन्तको रोहवरमा मुचुल्का गरी दाह संस्कारको लागी आफन्तको जिम्मा लगाइएको छ ! रोशन गत कार्तिक २४ गते देखि सम्पर्क विहिन भएका थिए। उनि मर्श्याङदी- ४,सिलढुङ्गा बस्ने मिनराशी गुरुङका छोरा हुन् । अहिले गुरुङ परिवार शोकमा डुबेका छन् ।
























