प्रहार समाचार । काठमाडौ ७ साउन २०८१ सोमबार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा का अनुसार अहिले विहानैदेखि गण्डकी प्रदेशका केही स्थान तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो एक घण्टा काठमाडौंको सुन्दरीजल, कपन र आसपास भारी वर्षा भएको छ । बागमती गौरीघाट, विष्णुमती, धोविखोलालगायत नदीमा जलसतह बढ्दो क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र कोशी, बागमती , गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा आज जारी बुलेटिनमा उल्लेख छ।
























