प्रहार समाचार । कास्की, माघ २८ आईतवार । मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार–२०८०’ साहित्यकार उषा शेरचनलाई प्रदान गरिएको छ ।
मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्याएबापत उनलाई पुरस्कृत गरिएको हो। ३३ हजार तीन सय ३३ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्तलगायतले संयुक्तरूपमा शेरचनलाई हस्तान्तरण गरे ।

पोखरेली साहित्यकार अल्पबिरामले स्थापना गरेको उक्त पुरस्कार छैटौँपटकमा साहित्यकार शेरचन परेका हुन् । । शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यासलगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन् ।
मञ्चले यसअघि उक्त पुरस्कार साहित्यकार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशम्शेर थापालगायतलाई प्रदान गरिसकेको छ । विसं २०६८ देखि हरेक दुई वर्षको अन्तरमा उक्त पुरस्कार प्रदान गर्ने गरिएको गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले बताए । मुक्तकको उत्थानमा मञ्च क्रियाशील रहँदै आएको छ ।


























