• अमरराज नहर्की
प्रहार समाचार । तनहुँ, माघ २५ बिहिवार । सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । यसवर्ष मूल्य र उत्पादन बढेपछि किसान खुसी भएका छन् । यो वर्ष यहाँका कृषकहरुले ३० करोड रुपियाँ आम्दानी लिएका छन् ।

उत्पादन र मूल्यामा वृद्धि सुन्तला खेतीमा विस्तार भएकोले गत वर्ष भन्दा चार करोड सुन्तला बढी बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताए । सुन्तला खेतीबाट राम्रो अम्दानी हुन थालेपछि यस खेतीतर्फ आकर्षित हुन थालेकाले जिल्लामा सुन्तला उत्पादनमा वृद्धि हुँदै हो ।
परियारले भने- ‘गत वर्ष २६ करोड रुपियाँ आम्दानी गरेका थिए यस वर्ष चार करोड वृद्धि भएर ३० करोड बिक्री भएको छ ।’
जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार छ सय ८७ हेक्टरमा खेती गरिएकोमा नौ हजार ८ सय छ मेट्रिक टन सुन्तला उत्पादन गरि २६ करोड आम्दानी गरेको यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानीमा वृद्धि भएको पाईएको सूचना अधिकारी परियारले बताए ।

आव २०७८/७९ मा नौ हजार पाँच सय दश मेट्रिक टन सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मनग्य आम्दानी हुन थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिईने गरिएको छ ।

देवघाट गाउँपालिका–२ र ३, आँबुखैरेनी गाउँपालिका–५, म्याग्दे गाउँपालिका–४, व्यास नगरपालिका–७, १३ र १४, भिमाद नगरपालिका–८ र ९, बन्दीपुर गाउँपालिका–३, ऋषिङ गाउँपालिका–३ र घिरिङ गाउँपालिकामा सुन्तला खेती विस्तारको सम्भावना छ । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेकोले विक्रीको लागि कुनै समस्या नरहेको म्याग्दे गाउँपालिका–२ उमाचोक कृषक निर्मल अधिकारीले जानकारी दिए । गत वर्ष २० लाखको सुन्तला बिक्री गरेको र यसवर्ष ठुलो दाना लागेको र उत्पादन समेत वृद्धि भएको २५ लाखको सुन्तला बेचेको अधिकारीले जानकारीले बताए। कृषकलाई उत्साहित बनाउनको लागि बगैंचा व्यवस्थापना मद्धत गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख गोपालप्रसाद लामिछानेले जानकारी दिए ।

खाल्टो खन्न, सिंचाईको लागि पोखरी बनाउन, अनावश्यक हाँगाहरु काट्ने मेसिन तथा घरदैलोमा ने पुगेर प्राविधिक ज्ञान दिने गरिएको लामिछानेको भनाई छ। तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौंका अलवा पोखरा, नारायणगढ, विराटनगर लगायत ठुला सहरमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका स्थानिय बजारहरुमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।


























