प्रहार समाचार । माघ १० बुधबार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेदेखि सुरु हुने भएको छ । परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था रहेककोबोर्डका अध्यक्ष डा महाश्रम शर्माले बताए ।
शर्माका अनुसार यस वर्ष कक्षा १० का विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए ।

परीक्षा २७ गतेसम्म सञ्चालन हुने छ । उनले यस वर्ष निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याएमा उसको नतिजामा अवर्गीकृत (ननग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ । यस्तो अवस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

यस वर्षको एसइईमा नियमित र ग्रेडवृद्धितर्फ चार लाख ८९ हजार परीक्षार्थी परीक्षमा सहभागी हुने एसइई परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू गरिसकेको छ ।

परीक्षाको लागि आवश्यक पर्ने उत्तरपुस्तिका छपाई, प्रश्नपत्र छपाइदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी सुरु गरेको बोर्डले जनाएको छ ।


























