प्रहार समाचार । सप्तरी ,माघ ८ सोमबार ।सप्तरीको राजविराजमा रहेको कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रहरीले लाठीचार्ज मधेश प्रदेशका शिक्षामन्त्रीको टाउकोमा चोट लागेको छ ।
आज दिउँसो विश्वविद्यालय भवन शिलान्यास गर्ने क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्न बसेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले प्रहरीले लाठीचार्ज गरेको स्विकारेका छन् ।

जनमत पार्टीका नेताहरू ‘सप्तरीका ‘जनताको विरोधका बाबजुद गैरकानुनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं’ लेखेको व्यानरसहित स्वागतमा बसेका थिए ।

प्रहरीले लाठी चार्ज गर्ने क्रममा मधेश प्रदेशका शिक्षा मन्त्री महेशप्रसाद यादवको टाउकोमा चोट लागेको छ। विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध गर्न अगाडि बढ्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरेको प्रहरीको भनाई रहेता पनि सांसदहरू भाग्यसिंह चौधरी, रञ्जुकुमारी मण्डल, सतिशकुमार सिंहरूमाथि लाठीचार्ज भएको जनमत पार्टीका सचिव बिपी साहले बताए । प्रहरीले भने कोही पनि घाइते भएको भन्ने जानकारी नआएको जनाएको छ ।


























