प्रहार समाचार । तनहुँ, पुस १५ आईतबार ।
तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ खहरेमा मिलिजुली युवा क्लबको आयोजनामा तमु लोसार सांस्कृतिक कार्यक्रम २०८० आज विविध कार्यक्रमका साथ मनाइएको छ।
कार्यक्रमको स्थायी शिक्षक हक हित संरक्षण मञ्चका अध्यक्ष रमेश बाबु भट्टराईले उद्घाटन गर्दै कला संस्कृति र रीतिरिवाजले धनी देशमा यस्ता खाले सांस्कृतिक कार्यक्रमहरूले संस्कृति र रीतिरिवाजको संरक्षणमा टेवा पुग्ने बताए ।

कार्यक्रमा शिक्षक महासंघका तनहुँका अध्यक्ष आर सि पोख्रेल, राहत शिक्षक गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्रराज न्यौपाने लगायतले कला र संस्कृति देशका अमूल्य निधि भएकाले यस्को संरक्षण गर्नुपर्ने मा जोड दिए।

क्लबका अध्यक्ष रामबहादुर गुरुङको सभापतित्व भएको कार्यक्रमको सहजीकरण क्लबका सचिव केशबहादुर थापाले गरेका थिए। त्यस अवसरमा क्लबको आयोजनामा भएको सांस्कृतिक कार्यक्रममा कलाकारहरू अनुराग थापा मगर , उषा लामिछाने , बलविक्रम थापा ,खेमराज थापा , मनीसरा मगर , भौमाया गुरुङ , मनु राना मगर लगायतको सांगीतिक प्रस्तुतिमा दर्शकहरूले भरपुर मनोरञ्जन प्राप्त गरेको क्लबका संस्थापक अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए ।

यसैबिच क्लवको आयोजनामा भोलि सोमबारबाट खुल्ला गाउँ तथा टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता छैठौ मिलिजुली कप २०८० सञ्चालन हुने भएको छ ।

१८ गतेसम्म सञ्चालन हुने उक्त पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ ट्रफी, मेडल ,प्रमाणपत्र र खसी दोस्रो पुरस्कारको रुपमा ३३ हजार ३ सय ३३ ट्रफी, मेडल ,प्रमाणपत्र र बोका तथा तृतीय पुरस्कारस्वरूप २२ हजार २ सय २२ ट्रफी ,मेडल ,प्रमाणपत्र र दुईवटा भाले पुरस्कार राखीएको छ। प्रतियोगितामा ३२ टिमको सहभागीता रहने क्लवले जनाएको छ ।




















